नेपाल कानून पत्रिका

शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९२७४ - लागु औषध (नरफिन)

भाग: ५६ साल: २०७१ महिना: माघ अंक: १०

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपकराज जोशी

माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल

फैसला मिति : २०७१।५।५।५

२०६७-CR-०९९२

 

मुद्दा : लागु औषध (नरफिन)

 

पुनरावेदक/वादी : दलबहादुर बस्नेतसमेतको प्रतिवेदनले नेपाल सरकार

विरूद्द

विपक्षी/प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ नागपोखरी बस्ने राजेश खड्गीसमेत

 

§  लागु पदार्थको उत्पादन, सञ्चय, बिक्री वितरण, निकासी तथा पैठारीलाई लागु पदार्थ तथा मनोद्दीपक पदार्थको कारोबारको रूपमा राखेको र कारोबार र सेवन दुबै कार्यलाई ऐनले निषेध गर्दै सजायको व्यवस्था गरेको र व्यवसाय नै सञ्चालन गर्ने गरी अवैधरूपमा ठूलो परिमाणमा लागु औषधको सञ्चय गर्ने कार्य कारोबारको रूपमा मानिने भए तापनि नशाको लत भएका व्यक्तिले सानो परिमाणमा सञ्चय गरी निषेधित पदार्थ राख्ने कार्यलाई कारोबारको कार्यअन्तर्गत राख्न मिल्ने नदेखिने ।

(प्रकरण नं. )

§  लागु औषध प्रतिवादीले दुबै प्रयोजनको लागि सञ्चय गर्न सक्ने हुँदा त्यसमा निजको साथबाट बरामद भएको लागु औषधको मात्रालाई मुख्यरूपमा विचार गरिनुपर्ने ।

§  लागु औषधको प्रकृति, परिमाण, सञ्चय, खरिद, बिक्री, ओसार पसार वा निकासी पैठारीको उद्देश्य, अभियुक्तको गिरोह वा सङ्गठन, अभियुक्तहरूले प्रयोग गर्ने हातहतियार वा बलको प्रयोग तथा नाबालकलाई आपराधिक कार्यमा गराइएको संलग्नता, शैक्षिक सामाजिक र साँस्कृतिक सङ्गठन जस्ता संस्थालाई माध्यम बनाई गरेको कारोबार, सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो पदको दुरूपयोग गरी गरेको कारोबारको आधारमा निर्धारण गरिने अपराधको मात्रा मानिने भनी व्यवस्था गरिएको हुँदा आरोपित व्यक्ति कसुरमा संलग्न रहँदाको सम्पूर्ण अवस्थाको विचार गरी सजाय निर्धारण गरिनुपर्ने विधायिकी मनसाय रहेको देखिने ।

(प्रकरण नं. )

 

पुनरावेदक/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता भरतलाल शर्मा

विपक्षी/प्रतिवादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

§  लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४, १४()

           

सुरू तहमा फैसला गर्ने

मा.जि.न्या.श्री तेजबहादुर कार्की

पुनरावेदन तहमा फैसला गर्ने :

मा.न्या.श्री पुरूषोत्तम भण्डारी

मा.न्या.श्री ईश्वरप्रसाद खतिवडा

                                   

फैसला

            न्या.दीपकराज जोशी : पुनरावेदन अदालत, पाटनबाट मिति २०६७।२।५ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदनको रोहमा दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्ठहर यस प्रकार रहेको छ :

            मिति २०६२।१०।३ गतेका दिन काठमाडौं, का...पा. वडा नं. १ नागपोखरी बस्ने राजेश खड्गीसमेतले अवैध लागु औषध ओसार पसार तथा बिक्री वितरण गर्दछन् भन्ने सुराक पाए अनुसार राजेश खड्गीलाई पक्राउ गरी निजको घर कोठा खानतलासी गर्दा विभिन्न लागु औषध फेला परेको र सो लागु औषध बिक्री वितरण गरेबाट जम्मा भएको नगदसमेत रू. ३२,६२५।- बरामद भएको, सोही काममा निजको भाइ राजु खड्गीसमेत संलग्न रहेको र निजको साथबाट नगद रू. १३,७७०।- बरामद भएको हुँदा निजहरूउपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको प्र..नि. दलबहादुर बस्नेतसमेतको प्रहरी प्रतिवेदन ।

            प्रतिवादी राजेश खड्गीको घर खानतलासी गर्दा राजेश खड्गी सुत्ने कोठामा सिरानीमुनी टि.डि. जेसिक, नरफिन, डाइजिपाम थान -, फोनरेमन थान-, एभिल थान-, फोनिर मेलेट थान-, इभिमार्क लेखिएको क्याप्सुल थान ७, काडिया लेखिएको ट्याबलेट थान १९, फोली एसिड ट्याब्लेट थान-२२, टाइपोटोपन थान-१६, कोडीन ट्याब्लेट थान ४, एनर्जिन नामक ट्याब्लेट, जाइडक्स एलिप्याक थान-३ एवम्बिक्री वितरण गरेको नगद रू. ३२,‍६२५।- र सोही ठाउँमा राजु खड्गीको साथबाट टि.डि. जेसिक हान्ने सिरिन्ज थान ४, सिरिन्ज सफा गर्ने जस्तो पानी सिरिन्जमा नै भएको सिरिन्ज थान -२३, नाइट्रोमेटा ट्याब्लेट थान-२ र गाँजा अन्दाजी ४ ग्राम तथा लागु औषध बिक्री वितरण गरेको नगद विभिन्न दरको रू.१३,७७०।- समेत प्रहरीले हाम्रो सामुन्नेमा बरामद गरेको ठीक हो भन्नेसमेत व्यहोराको मिति २०६२।१०।३ को बरामदी मुचुल्का ।

            मिति २०६२।१०।३ गतेका दिन प्रहरीले मलाई पक्राउ गर्दा मेरो साथमा ४ ग्राम गाँजा, सिरिन्ज थान-, सिरिन्ज सफा गर्ने जस्तो पानी सिरिन्जमा नै भएको सिरिन्ज थान -२३, नाइट्रोमेटा ट्याब्लेट थान-२ मेरो साथबाट बरामद भएको हो, उक्त लागु औषध मसँग पक्राउ परेका मेरो दाजु राजेश खड्गीले सेवन एवम्शरीरमा लगाउने गरेका थिए । निजले उक्त लागु औषध कहाँबाट ल्याउने गरेका थिए मलाई थाहा छैन । मेरो साथबाट बरामद भएको नगद लागु औषध बिक्री वितरण गरी प्राप्त गरेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी राजु खड्गीको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान कागज ।

            राजेश खड्गी एवम्राजु खड्गीसमेतले विभिन्न किसिमको लागु औषध बिक्री गर्ने भएकाले मिति २०६२।१०।३ गते प्रहरीले पक्राउ गरी लागु औषधसमेत बरामद गरी लगेको थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको श्यामसुन्दर कपालीको कागज ।

            मैले पहिलादेखि नै लागु औषध सेवन गर्ने तथा शरीरमा इजेक्सन लगाई प्रयोग गर्ने गरेको छु । मैले टेकुतिर बस्ने लागु औषध कारोबारीहरूसँग खरिद गरी ल्याई बिक्री वितरणसमेत गर्नेगर्दछु । यसै क्रममा मिति २०६२।१०।३ गते प्रहरीले मेरो कोठा खानतलासी गर्दा मेरो पलङ्गमा भएको बरामदी मुचुल्कामा उल्लिखित लागु औषध एवम्लागु औषध बिक्री वितरण गरी प्राप्त गरेको नगद जम्मा रू.३२,६२५।- समेत बरामद गरेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी राजेश खड्गीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।

            प्रतिवादीहरूको साथबाट बरामद भै आएको अवैध लागु औषध मध्येबाट नमुना निकाली जाँच परीक्षणको लागि यस प्रयोगशालामा प्राप्त हुन आएकोमा उक्त नमुना जाँच गर्दा लागु औषध गाँजा पाइयो । प्राप्त अन्य नमुनाहरूमा डाइजोपाम, बुप्रिनोर्फिन, कोडिन, नाइट्रिजिपाम पाइएको छ । नमुना नं. ,,,,९ र १४  मा लागु औषध तथा मनोद्दीपक पदार्थ पाइएन भन्ने व्यहोराको केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशालाको राय प्रतिवेदन ।

            SEVEN PAIN भएका विरामीहरूले ETHYLOMORPHINE प्रयोग गर्छन् । उक्त औषधि लागु औषध समूहमा पर्छ भन्ने व्यहोराको वीरेन्द्र प्रहरी अस्पतालको पत्र ।

            यसमा जिल्ला प्रहरी कार्यालय, काठमाडौंबाट अनुसन्धान कार्य सम्पन्न भई अभियोजनार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा बरामदी मुचुल्का, प्र..नि. दलबहादुर बस्नेतको प्रहरी प्रतिवेदन, प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान, बुझिएका श्याम सुन्दर कपालीको कागज, केन्द्रीय प्रहरी विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनसमेतबाट प्रतिवादी राजेश खड्गी र राजु खड्गीले अवैध लागु औषध तथा मनोद्दीपक पदार्थहरूको कारोबार, ओसार पसार तथा सञ्चय एवम्बिक्री वितरण कारोबार गरेको तथ्य पुष्टि हुन आएकाले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को खण्ड () () () विरूद्धको कसुर अपराधमा निज राजु खड्गीलाई सोही ऐनको दफा १४() र प्रतिवादी राजेश खड्गीलाई सोही ऐनको दफा ४ खण्ड ()() () विरूद्धको कसुरमा सोही ऐनको दफा १४() () बमोजिम सजाय गरी बरामद नगदसमेत जफत गरिपाउँ भन्नेसमेत व्यहोराको मिति २०६२।११।१६ मा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंबाट काठमाडौं जिल्ला अदालतसमक्ष दायर भएको अभियोगपत्र ।

            बरामदी मुचुल्कामा बरामद भएको ४ वटा नरफिन र सानो गाँजा पोका मसँगबाट प्रहरीले मेरो घरमा बरामद गरेको नभै घरबाहिर समातेको हो । अन्य सरसामान तथा नगद रकम मासु पसल गर्ने मेरी श्रीमती भएको हुँदा सोही रकम बरामद भएको हो । म लागु औषधको कारोबार गर्दिन । सेवन मात्र गर्दछु । मेरो भाइले सेवन तथा कारोबार केही पनि गर्दैनन् । प्रहरी प्रतिवेदन झुट्ठा हो । अभियोग दावीबमोजिम मैले कारोबारको कसुर गरेको छैन, सेवनमात्र गर्ने गर्छु । बरामद भएको रकम मैले अवैध लागु औषध कारोबार गरी प्राप्त गरेको नभै श्रीमतीले व्यापारबाट कमाएको हुँदा रकम जफत नभई फिर्ता पाउनुपर्छ भन्नेसमेत व्यहोराको प्रतिवादी राजेश खड्गीको बयान कागज ।

            मेरो साथबाट कुनै लागु औषध बरामद भएको होइन । म निर्दोष छु । बरामदी मुचुल्कामा बरामद भएको रकम ने.रू. ३२,६२५।- र भा.रू.१००।- भाउजुले मासु बेचेर जम्मा गरेको पैसा हो । बरामदी मुचुल्का, प्रहरी प्रतिवेदन सबै झुट्ठा हो । मलाई सजाय हुनपर्ने तथा रकम जफत हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी राजु खड्गीको बयान कागज ।

            यसमा प्रमाण बुझ्दै जाँदा पछि ठहर भएबमोजिम हुने गरी हाललाई प्रतिवादी राजेश खड्गीबाट रू. ,७०,०००।- (एक लाख सत्तरी हजारर प्रतिवादी राजु खड्गीबाट रू. ११८०००।- (एक लाख अठार हजार) धरौटी माग गरी दिए लिई तारिखमा राख्नु भन्ने मिति २०६२।११।१६ मा थुनछेक आदेश भएकोमा आदेश अनुसार नगद धरौट दाखिल गरी प्रतिवादीहरू तारिखमा रही पुर्पक्ष गरेको ।

            प्रतिवादीले लागु पदार्थ कारोबार गर्ने नभई सेवनसम्म गर्ने गर्दथे । म छिमेकी भएको हुँदा निजले बिक्री वितरण गरेको थाहा छैन । सेवन गर्ने भएकाले सेवनमा सजाय हुनपर्ने हो भन्नेसमेत व्यहोराको प्रतिवादी राजेश खड्गीका साक्षी गणेश परियारले अदालतमा गरेको बकपत्र ।

            निज राजु खड्गी लागु औषध सेवन गर्ने र बिक्री वितरण गर्ने मानिस होइनन् । निजबाट बरामद भएको पैसा उनको रेस्टुरेन्टको भाडा तिर्न सोही रेस्टुरेन्टबाट कमाएको पैसा हो । निजको दाजु लागु औषध सेवनसम्म गर्ने व्यक्ति भएको हुँदा निजबाटै सो लागु औषध बरामद भएको हो, राजु  खड्गीबाट बरामद भएको होइन उनी निर्दोष भएको हुँदा सफाइ पाउनुपर्छ भन्ने प्रतिवादी राजु खड्गीको साक्षी कृष्ण पुन र सनोज परियारको बकपत्र ।

            प्रतिवादीले लागु औषध सेवन गर्ने गर्नुहुन्थ्यो । बिक्री वितरण गरेको कुरा साँचो  होइन । बरामद भएको पैसा निजको श्रीमतीले मासु पसल गरी कमाएको हो । निजलाई बिक्री वितरणमा नभई सेवनमा सजाय हुनपर्ने हो भन्नेसमेत व्यहोराको प्रतिवादी राजेश खड्गीको साक्षी इन्द्र तामाङले  गरेको बकपत्र ।

            प्रतिवादी राजेशबाट रू. ३२,६२५।- नगद, टि.डी. जेसिक, नर्फिनलगायत बरामदी मुचुल्कामा लेखिएका सामान र प्रतिवादी राजुबाट विभिन्न नोटहरू गरी रू. १३,७७०।- र भारू १००।- तथा ४ ग्राम गाँजा सर्टको गोजीबाट र बरामदी मुचुल्कामा लेखिएको परिणामका विभिन्न सामग्री बरामद भएको हो भन्नेसमेत व्यहोराको प्रतिवेदक रामहरि कार्कीको बकपत्र ।

            राजेश खड्गीको घर खानतलासी गर्दा टि.डि. जेसिक, नोर्फिन, एभिलसमेत बरामदी मुचुल्कामा उल्लेख भएका विभिन्न लागु औषधहरू तथा नगद करिब रू. ३२,०००।- बरामद भएको हो । राजु खड्गीको साथबाट गाँजा ४ ग्राम, नगद रू. १३०००।- तथा लागु औषधमा प्रयोग हुने अन्य सामानहरू बरामद भएको हो भन्नेसमेत व्यहोराको प्रतिवेदक सहदेव पुरीको बकपत्र ।

            प्रतिवादी राजेशबाट टि.डी. जेसिक ८ थान, नेविल १ थान, फोनरेसन २ थान नगद रू. ३२,६२५।- र प्रतिवादी राजुबाट गाँजा ४ ग्राम, सिरिन्ज र सिरिन्ज सफा गर्ने पानी २३ वटा तथा नगद रू. १३,७७०।- बरामद भएको हो । अरू छुट भएको प्रतिवेदनमा नै उल्लेख भएको छ भन्नेसमेत व्यहोराको प्रतिवेदक भिमबहादुर कटवालको बकपत्र ।

            मिसिल संलग्न प्रतिवादी राजेश खड्गीको बयान, प्रतिवेदकहरूको बकपत्र, बरामदी मुचुल्का र विशेषज्ञको राय प्रतिवेदनसमेतको आधारमा प्रतिवादी राजेश खड्गीले लागु औषध ओसार पसारको कसुर गरेको नभई लागु औषध सेवन गरी लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ को देहाय () को कसुर गरेको देखिँदा सोही ऐनको दफा १४()() बमोजिम निज प्रतिवादी राजेश खड्गीलाई ६ महिना कैद र रू. ५०००।- जरिवाना हुने ठहर्छ । अर्का प्रतिवादी राजु खड्गीले लागु औषध कारोबार गरेको तथ्य मिसिल संलग्न प्रमाणबाट खुल्न नआएकाले निज प्रतिवादी राजु खड्गीले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६४।३।१५ को फैसला ।

            प्रतिवादी राजेश खड्गी राजु खड्गीले मौकामा बयान गर्दा आरोपित कसुरमा साबिती बयान गरेको, प्रतिवादी राजेश खड्गी अदालतमा समेत साबित रहेका, प्रतिवादीहरूबाट लागु औषध र त्यसको कारोबारबाट आर्जित रकमसमेत बरामद भएको, बरामदी पुष्टि हुने गरी प्रतिवेदकहरूले बकपत्र गरिदिएकोसमेतबाट प्रतिवादीहरू लागु औषधको कारोबार गर्ने व्यक्तिहरू हुन् भन्ने स्पष्ट देखिँदादेखिँदै प्रतिवादी राजेश खड्गीलाई सेवनमा मात्र सजाय गर्ने र समान अवस्थाका अर्का प्रतिवादी राजु खड्गीलाई आरोपित कसुरमा सफाइ दिने गरी भएको फैसला सो हदसम्म त्रुटिपूर्ण रहेको हुँदा बदर गरी प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम नै सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत, पाटनसमक्ष परेको पुनरावेदन ।

            यसमा प्रतिवादीहरूले मौकामा बयान गर्दा आरोपित कसुर गरेकोमा साबिती भई बयान गरेका र प्रतिवादीमध्येका राजेश खड्गीले लागु औषध बरामद भएको कुरामा अदालतसमक्ष बिक्री बयान गरेको अवस्थामा बरामदी मुचुल्का उल्लिखित लागु औषधको परिमाणका सम्बन्धमा विवेचना नगरी भएको सुरू फैसला विचारणीय देखिँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत निमयावली, २०४८ को नियम ४७ बमोजिम छलफलको लागि विपक्षीलाई झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको आदेश ।

            प्रतिवादी राजेश खड्गीले अनुसन्धान अधिकारीसमक्ष कसुर अपराध गरेकोमा साबित भई बयान गरेता पनि अदालतसमक्ष आफू लागु औषध कारोबारी नभई सेवन मात्र गर्ने गरेको र बरामद भएको रकम, आफ्नो नभई श्रीमतीले आर्जन गरेको भनी दावी अनुसारको कसुरमा संलग्न नभएको भनी इन्कारी बयान गरेको समेतका आधारमा दावी अनुसार ओसारपसारमा संलग्न नदेखिई सेवनतर्फमात्र सजाय गर्ने तथा अर्का प्रतिवादी राजु खड्गीले अभियोग दावीबाट सफाइ पाउने गरी गरेको फैसला सदर हुने र सजायको हकमा प्रतिवादी राजेश खड्गीलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४() बमोजिम २(दुई) महिना कैद र रू.२०००।- (दुई हजार) रूपैयाँसम्म जरिवाना हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनबाट सुरू फैसला केही उल्टी गर्दै मिति २०६७।२।५ मा भएको फैसला ।

            प्रतिवादी राजेश खड्गीले लागु पदार्थ ओसार पसार बिक्री वितरण गर्न आफ्नो घर कोठामा विभिन्नथरीका लागु पदार्थ सञ्चय गरी राखेकोमा सो लागु पदार्थको साथमा नगदसमेत बरामद भएको छ भने अर्का प्रतिवादी राजु खड्गीले लगाएको कपडाबाट लागु औषध तथा नगद बरामद भएको अवस्थामा समेत राजेश खड्गीलाई सेवनतर्फ मात्र र राजु खड्गीलाई सफाइ दिने गरी भएको फैसला कानूनत: त्रुटिपूर्ण  छ । प्रतिवादीहरूले मौकामा बयान गर्दा आरोपित कसुरमा साबित रही बयान गरेका र निजहरूको साथबाट विभिन्न प्रकृतिका लागु औषध बरामद भएको र बरामदी प्रकृतिबाटै निज प्रतिवादीहरू लागु औषधका कारोबारी रहेको स्षष्ट देखिँदादेखिँदै एकलाई सेवनकर्ता र अर्कालाई सफाइ दिने गरी भएको फैसलामा मिसिल संलग्न प्रमाणको उचित मूल्याङ्कन नभएको हुँदा सो फैसला बदर गरी अभियोग मागदावीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतसमक्ष परेको पुनरावेदन ।

            नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसीसूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री भरतलाल शर्माले लागु पदार्थ प्रतिवादीको साथबाट बरामद भएको साथै लागु औषध बेचबिखन गरी आर्जन गरेको रकमसमेत बरामदी मुचुल्कामा देखिइरहेको अवस्थामा राजु खड्गीलाई सफाइ दिने र राजेश खड्गीलाई सेवनतर्फ मात्र सजाय गर्ने गरी गरिएको फैसलामा तथ्य र कानूनको विवेचना सहीरूपमा नगरिएको हुँदा पुनरावेदन अदालत, पाटनको फैसला उल्टी गरी अभियोग मागदावी अनुसार प्रतिवादीहरूलाई सजाय हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।

            मिसिल संलग्न कागजात अध्ययन गरी विद्वान् उपन्यायाधिवक्ताको बहस जिकिरसमेत सुनी निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, पाटनबाट सुरू फैसला सदर गर्दै सजायतर्फ केही कमी गर्ने गरी भएको फैसलाका सम्बन्धमा देहायका प्रश्नहरूको निरूपण गरी निर्णय दिनुपर्ने देखियो ।

()के कस्तो अवस्थाको कार्यलाई लागु पदार्थ तथा मनोद्दीपक पदार्थहरूको कारोबार, ओसार पसार तथा सञ्चय एवम्बिक्री वितरण गरेको कार्य मानिन्छ ?

()लागु औषध प्रतिवादीको साथबाट बरामद भएको आधारमा लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४() () बमोजिमको सजाय गर्न मिल्छ मिल्दैन  ?

() पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ छैन ? पुनरावेदक नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ सक्तैन ?

 

            . यसमा पहिलो प्रश्नतर्फ विचार गर्दा कानूनद्वारा लागु औषध तथा मनोद्दीपक पदार्थ भनी घोषित गरेका वस्तु अनुमतिबिना सञ्चय तथा बिक्री वितरण गर्न कानूनद्वारा नै बन्देज लगाइएको हुन्छ । लागु औषधको खुलमखुला गरिने कारोबारले समाजमा पुर्याउन सक्ने नकारात्मक असरलाई विचार गरी लागु औषध खरिद, सञ्चय र ओसार पसारलाई कानूनले नै सिमाबन्देज गरिदिएको हुन्छ । लागु औषध (नियन्त्रण) ऐन, २०३३ अगाडि नेपालमा लागु औषध व्यवस्थित गर्ने कानून नभएको र लागु औषधको अव्यवस्थित प्रयोगले  ल्याएको विभिन्न विकृति निवारण तथा व्यवस्थित गर्न उक्त ऐन आएको पाइन्छ । उक्त ऐनले विभिन्न कार्यलाई निषेध र नियन्त्रण गर्दै उत्पादन, तयारी, खरिद, बिक्री वितरण, निकासी वा पैठारी, ओसार पसार, सञ्चय वा सेवन गर्ने कार्यलाई गर्न नहुने कार्यअन्तर्गत राखी सजायसमेतको व्यवस्था गरेको पाइन्छ । लागु औषध (नियन्त्रण) ऐन , २०३३ को परिच्छेद २ निषेध र नियन्त्रण अन्तरगत दफा ४ मा देहायका कार्यहरूलाई निषेध गरी सूचीकरण गरिएको पाइन्छ ।

()गाँजाको खेती गर्न, उत्पादन गर्न तैयारी गर्न, खरिद गर्न, बिक्री वितरण गर्न निकासी वा पैठारी गर्न, ओसार पसार गर्न, सञ्चय गर्न वा सेवन गर्न,

()अफिम वा कोकाको खेती गर्न वा अफिम वा कोकाको पात वा अन्य लागु औषधको उत्पादन  गर्न,

() लागु औषधको निर्माण वा तयारी गर्न,

() लागु औषधको बिक्री वितरण गर्न,

() लागु औषधको निकासी वा पैठारी गर्न,

() लागु औषध खरिद गर्ने, सञ्चय गर्ने, राख्ने वा ओसार पसार गर्ने र

() गाँजा बाहेक अन्य लागु औषध सेवन गर्ने 

 

. माथि उल्लिखित कानूनी व्यवस्था हेर्दा लागु पदार्थको उत्पादन, सञ्चय, बिक्री वितरण, निकासी तथा पैठारीलाई लागु पदार्थ तथा मनोद्दीपक पदार्थको कारोबारको रूपमा राखेको पाइयो भने कारोबार र सेवन दुबै कार्यलाई ऐनले निषेध गर्दै सजायको व्यवस्थासमेत गरेको देखियो । व्यवसाय नै सञ्चालन गर्ने गरी अवैधरूपमा ठूलो परिमाणमा लागु औषधको सञ्चय गर्ने कार्य कारोबारको रूपमा मानिने भए तापनि नशाको लत भएका व्यक्तिले सानो परिमाणमा सञ्चय गरी निषेधित पदार्थ राख्ने कार्यलाई कारोबारको कार्यअन्तर्गत राख्न मिल्ने देखिएन ।

            . अब दोस्रो प्रश्नतर्फ विचार गर्दा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४() () मा माथि खण्ड () मा लेखिएदेखि बाहेक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाई दुई वर्षदेखि दश वर्षसम्म कैद र एकलाख रूपैयाँदेखि बीसलाख रूपैयाँसम्म जरिवाना गरिने भनी उल्लेख भएको र खण्ड () मा लागु पदार्थ तथा मनोद्दीपक पदार्थको सेवनका सम्बन्धमा सजायको व्यवस्था गरिएको हुँदा खण्ड () को सजाय कारोबारको लागि र () को सजायसम्बन्धी व्यवस्था सेवन कार्यका लागि भएको देखियो । यस आधारमा हेर्दा लागु औषध प्रतिवादीको साथमा भेटिनु मात्र ऐ ऐनको दफा १४() () बमोजिम सजायको लागि पर्याप्त मान्न सकिएन । लागु औषध प्रतिवादीले दुबै प्रयोजनको लागि सञ्चय गर्न सक्ने हुँदा त्यसमा निजको साथबाट बरामद भएको लागु औषधको मात्रालाई मुख्यरूपमा विचार गरिनुपर्ने देखियो । ऐ. ऐनको दफा १४ को स्पष्टीकरण खण्डमा लागु औषधको प्रकृति, परिमाण, सञ्चय, खरिद, बिक्री, ओसार पसार वा निकासी पैठारीको उद्देश्य, अभियुक्तको गिरोह वा सङ्गठन, अभियुक्तहरूले प्रयोग गर्ने हातहतियार वा बलको प्रयोग तथा नाबालकलाई आपराधिक कार्यमा गराइएको संलग्नता, शैक्षिक सामाजिक र साँस्कृतिक सङ्गठन जस्ता  संस्थालाई माध्यम बनाई गरेको कारोबार, सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो पदको दुरूपयोग गरी गरेको कारोबारको आधारमा निर्धारण गरिने अपराधको मात्रा मानिने भनी व्यवस्था गरिएको हुँदा आरोपित व्यक्ति कसुरमा संलग्न रहँदाको सम्पूर्ण अवस्थाको विचार गरी सजाय निर्धारण गरिनुपर्ने विधायिकी मनसाय रहेको देखिन आयो । यस अर्थमा हेर्दा प्रतिवादीको साथबाट लागु औषध बरामद हुनुलाई मात्र लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४()() बमोजिमको सजाय गर्नको लागि पर्याप्त आधार मान्न मिल्ने देखिएन ।

. अब तेस्रो तथा निर्णायक प्रश्न सुरू फैसला केही उल्टी गर्दै पुनरावेदन अदालत, पाटनबाट भएको फैसला मिले नमिलेकोतर्फ विचार गर्दा प्रतिवादी राजेश खड्गी तथा राजु खड्गीले टिजी जेसीक, नरफिन, डाईजिपाम, गाँजालगायतका लागु पदार्थ ओसार पसार बिक्री वितरण गर्ने कार्य गरी लागु औषध नियन्त्रण ऐन, २०३३ को विपरीत कार्य गरेको हुँदा सोही ऐन अनुसार कारवाही गरी पाउन परेको प्रहरी प्रतिवेदनबाट प्रस्तुत मुद्दाको उठान भएको पाइन्छ । प्रतिवादीमध्येका राजेश खड्गीले अनुसन्धान अधिकृतसमक्ष लागु औषध कारोबारमा संलग्न रहेकोमा साबित रहे पनि अदालतमा आफूले कारोबारको लागि सञ्चय नगर्ने केवल सेवन गर्नका लागि मात्र राख्ने भनी अनुसन्धानका क्रममा दिएको बयान भन्दा फरक बयान दिएको पाइन्छ । निजको भनाइ समर्थित हुने गरी अदालतमा उपस्थित भई बकपत्र गर्ने साक्षीहरूले समेत निज कारोबारी नभई सेवनकर्ता मात्र रहेको हुँदा सेवनतर्फ मात्र सजाय हुनुपर्ने भनी लेखाइदिएको देखिन्छ भने सहअभियुक्तका रूपमा रहेका राजु खड्गीले समेत दाजुले कारोबारको लागि नभई सेवन गर्नका लागि मात्र लागु औषध राख्ने गरेको भनी अदालतसमक्ष भएको आफ्नो बयानमा उल्लेख गरेको देखिन्छ । यस्तो अवस्थामा प्रतिवादी राजेश खड्गीको साथबाट बरामद भएको लागु औषधको मात्रा ज्यादा नदेखिएको र उक्त लागु औषध निजले बेचबिखन गर्नको लागि सञ्चय गरेको भनी अभियोजन पक्षले प्रमाण गुजार्न नसकेको अवस्थामा निज लागु औषधको कारोबारमा संलग्न रहेको मान्न सकिएन । यद्यपि निजको साथबाट लागु औषध बरामद भएको र निजले स्वयम्उक्त तथ्य स्वीकार गरिसकेको अवस्था विद्यमान रहेको देखिँदा ऐनद्वारा निर्दिष्ट सेवनतर्फको कसुरमा निजको संलग्नता रहेको देखिन आयो । लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ मा निषेधित कार्यको रूपमा कारोबार र सेवन दुबै कार्यलाई राखिएको तर ऐ ऐनको दफा १४ मा उपरोक्त दुई कार्यमध्ये एकमा बढी सजाय र अर्कोमा घटी सजाय हुने व्यवस्था गरी कसुरको मात्राको आधारमा सजाय तोकिने व्यवस्था गरिएको पाइयो । प्रतिवादीले गरेको कसुरको मात्राको आधारमा निजलाई सजाय निर्धारण गरिने विधायिकी मनसाय रहेको अवस्थामा कारोबारको तथ्य नै स्थापित हुन नसकेको प्रस्तुत मुद्दामा यी प्रतिवादी राजेश खड्गीलाई कारोबारतर्फ सजाय हुनुपर्ने भन्ने नेपाल सरकारको जिकिरलाई तर्कसङ्गत मान्न सकिएन ।

. अर्का प्रतिवादी राजु खड्गीले अनुसन्धानको क्रममा लागु औषधको कारोबार तथा सेवन दुबै कसुरमा संलग्न नभएको भनी इन्कारी बयान दिएका र अदालतसमक्षसमेत सोही व्यहोराको बयान गरेको देखिन्छ । सहअभियुक्त राजेश खड्गी तथा बकपत्र गर्ने अन्य मानिसले समेत निज कसुरमा संलग्न नभएको भनी लेखाइदिएको र मिसिल संलग्न कागजातहरूबाट समेत निजले लागु औषध कारोबार तथा सेवन गरेको तथ्य स्थापित हुन नसकेको अवस्थामा निजलाई कसुरमा संलग्न रहेको भनी मान्न सकिएन । यी प्रतिवादीले यो यति मात्रामा यसरी लागु औषध बिक्री वितरण गरेको भनी स्पष्टरूपमा अनुसन्धानबाट खुल्न नसकेको र अभियोग मागदावीमा समेत प्रष्टरूपमा कसुरको तथ्य स्थापित गरी सजायको माग गर्न नसकेको अवस्थामा समष्टिगत अभियोजनलाई आधार मानी कसुर नै स्थापित नभएका प्रतिवादीको हकमा सजाय गर्न मिल्ने देखिएन ।

. यसर्थ माथि विवेचित आधार र कारणबाट प्रतिवादी राजेश खड्गीलाई सेवनतर्फ सजाय गर्ने र प्रतिवादी राजु खड्गीले अभियोग दावीबाट सफाइ पाउने ठहराई भएको पुनरावेदन अदालत, पाटनको मिति २०६७।२।५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या.जगदीश शर्मा पौडेल

 

इति संवत् २०७१ साल भदौ ५ गते रोज ५ शुभम् ।

इजलास अधिकृत : चन्द्रप्रकाश तिवारी

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु