इजलासको आदेश सोही दिन प्रणालीमा प्रविष्ट गर्ने व्यवस्थाको शुभारम्भ
न्यायिक सेवाप्रवाहलाई थप छिटो, पारदर्शी, प्रविधिमैत्री तथा सेवाग्राहीमुखी बनाउने उद्देश्यले सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणाली (Case Management System, CMS) मा प्रविष्ट (अपलोड) गर्ने व्यवस्थाको आजबाट शुभारम्भ भयो। नयाँ व्यवस्थाअनुसार इजलासबाट हुने आदेशहरू (फैसला वा अन्तिम आदेश बाहेकका) सोही दिन अदालतको विद्युतीय प्रणाली (CMS) मा प्रविष्ट गरिनेछ। यसबाट मुद्दाका पक्ष, कानून व्यवसायी तथा सम्बन्धित निकायले आदेशको जानकारी समयमै प्राप्त गर्न सक्नेछन् भने यस व्यवस्थाले न्यायिक प्रक्रियालाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास छ।
यस प्रणाली कार्यान्वयनसँगै न्यायमा पहुँच अभिवृद्धि हुने, आदेशको जानकारी प्राप्त गर्न अदालतमा पटक–पटक उपस्थित हुनुपर्ने बाध्यता कम हुने, मुद्दाका पक्ष तथा अदालतका कर्मचारीबीच हुने अनावश्यक प्रत्यक्ष सम्पर्क न्यून हुने, सेवाप्रवाहमा पारदर्शिता र जवाफदेहिता बढ्ने तथा आदेशसम्बन्धी सूचनाको समयमै उपलब्धताले न्यायिक प्रक्रियाप्रति नागरिकको विश्वास थप सुदृढ हुने अपेक्षा छ। त्यसैगरी, प्रणालीमा प्रविष्ट भएका आदेशका आधारमा सम्बन्धित मुद्दाका पक्षहरूले आवश्यक प्रक्रिया पूरा गरी देशभरका कुनै पनि अदालतबाट आदेशको प्रमाणित प्रतिलिपि प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ। यसबाट सेवाग्राहीको समय, श्रम र आर्थिक व्ययमा कमी आउनुका साथै अदालतसम्मको भौतिक पहुँचका कारण उत्पन्न हुने असुविधा न्यूनीकरण हुने अपेक्षा गरिएको छ।
यो प्रणालीले अदालतहरूबीचको विद्युतीय अन्तरसम्बन्ध (interoperability) लाई थप सुदृढ गर्नुका साथै न्यायिक अभिलेख व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित र आधुनिक बनाउने, कागजी प्रक्रियामा निर्भरता घटाउने, आदेश कार्यान्वयन प्रक्रियालाई थप सहज बनाउने तथा भविष्यमा न्यायिक सेवाको पूर्ण डिजिटल रूपान्तरण (Digital Transformation) का लागि महत्वपूर्ण आधार तयार गर्ने विश्वास लिइएको छ। सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत न्यायपालिकालाई अझ सेवाग्राहीमैत्री, पारदर्शी, उत्तरदायी तथा सहज पहुँचयुक्त बनाउने न्यायपालिकाको निरन्तर प्रयासअन्तर्गत यो व्यवस्था कार्यान्वयनमा ल्याइएको र यसको प्रभावकारी कार्यान्वयनमा सबै सम्बन्धित निकाय र कर्मचारीको सक्रिय सहयोग आवश्यक रहनुको साथै आगामी दिनमा समेत न्याय प्रशासनमा सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्दै न्यायिक सेवाको गुणस्तर, प्रभावकारिता तथा नागरिकको न्यायमा पहुँच अभिवृद्धि गर्ने दिशामा थप सुधारात्मक कार्यक्रमहरू कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरिएको छ।
Recent Posts
सर्वोच्च अदालतमा अदालती दस्तुर QR Code मार्फत भुक्तानी गर्न सकिने सेवाको शुभारम्भ
सम्माननीय प्रधान न्यायाधीशसमक्ष न्याय प्रशासनमा सुधारसम्बन्धी अध्ययन प्रतिवेदन
सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्मा र संयुक्त अधिराज्य (UK) को प्रतिनिधिमण्डल बिच द्विपक्षीय भेटघाट तथा न्यायिक संवाद कार्यक्रम सम्पन्न
जिल्ला अदालतबाट भएका आदेश सोही दिन मुद्दा व्यवस्थापन प्रणाली (CMS) मा प्रविष्टी
सम्माननीय प्रधान न्यायाधीशद्वारा कास्की जिल्ला अदालतको क्षतिग्रस्त भवनको अवलोकन
न्यायमा पहुँच: वर्तमान अवस्था, चुनौती र सुधारका क्षेत्रहरू” विषयक एकदिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न
सम्माननीय प्रधान न्यायाधीशज्यूद्वारा उच्च अदालत जनकपुर लगायतका अदालतहरूको अवलोकन
कानून बाङ्गमय शताब्दी पुरुष श्री कृष्णप्रसाद भण्डारीज्यूको शताब्दी जन्मोत्सव समारोहमा सम्माननीय प्रधान न्यायाधीशज्यूको प्रमुख आतिथ्यता
सम्माननीय प्रधानन्यायाधीशज्यूद्वारा विभिन्न अदालत तथा न्यायाधीकरणको आकस्मिक निरीक्षण
सर्वोच्च अदालत बार एशोसियसनद्वारा बधाई, शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा सम्माननीय प्रधान न्यायाधीशज्यूलाई बधाई, शुभकामना तथा भेटघाट
राजश्व न्यायाधीकरणका माननीय अध्यक्ष तथा सदस्यज्यूहरुसँगको भेटघाट कार्यक्रम!