About Us
नेपालको सात प्रदेशहरु मध्ये मधेश प्रदेश अन्तर्गतको जनकपुर अञ्चल क्षेत्रभित्र पर्ने जिल्लाहरुमा दक्षिण पूर्व तर्फ रहेको महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा महोत्तरी जिल्ला अदालत अवस्थिति छ। नेपाल भारत सीमा नाका भिठ्ठामोड भन्दा करिव ५ किलोमिटर उत्तरमा अवस्थित समुन्द्र सतहभन्दा ६१ मिटर उचाईमा रहेको सवै जिल्लाहरुको सदरमुकाम मध्ये होचो सदरमुकाम महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको प्रसिद्ध जलेश्वरनाथको मन्दिर अवस्थित छ। यस अतिरक्त महोत्तरी जिल्लामा प्रसिद्ध ऐतिहासिक संस्कृत पाठशाला मटिहानी न.पा., माईस्थान भगवती बर्दिवास न.पा., सोनामाई मन्दिर औरही नगरपालिका, पडौलस्थान बलवा न.पा लगायतका धार्मिक तथा ऐतिहासिक स्थलहरु प्रसस्त छन् भने उत्तरतर्फ पूर्व पश्चिम राजमार्ग ढल्केवरवाट ४६ कि.मि. तथा प्रसिद्ध जनक जननी भूमि जनकपुरधामवाट १४ किलोमिटर दक्षिण जलेश्वर न.पा. वडा नं. २ मा महोत्तरी जिल्ला अदालतको भवन रहेको छ। यस महोत्तरी जिल्लामा नगरपालिका १० वटा तथा गाउँ पालिका ५ वटा गरी १५ वटा स्थानीय निकाय रहेको छ। पुरानो रेकर्ड मिसिलहरु केलाउँदा वि.सं. १९८२ सालमा जलेश्वर अमिनी, २०१६ सालमा जलेश्वर इलाका अदालत हुँदै २०२१ साल देखि जिल्ला अदालतको स्वरुपमा परिवर्तन भएको यस अदालतको आफ्नै भवन भए तापनि अहिलेको भवन पुरानो जीर्ण भई कोठा अभाव समेतले गर्दा जलेश्वर न.पा. वडा नं. २ मा यस अदालतको नयाँ भवनको निर्माण कार्य भइरहेको छ।