हाम्रो बारेमा
- नेपालको संविधान, २०७२ को धारा १२६ ले नेपालको न्याय सम्बन्धी अधिकार यो सविधान र अन्य कानुन र न्यायका मान्य सिदान्त बमोजिम अदालत तथा न्यायिक निकायबाट प्रयोग गरिने व्यवस्था गरेको छ । संविधानको धारा १२७ ले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत गरी ३ तहको अदालतको ब्यवस्था गरेको छ । न्याय प्रशासन ऐन, २०७३ को दफा ५ ले उच्च अदालतको स्थापना सम्बन्धमा व्यवस्था गरी सोही दफा ५ को उपदफा ३ ले उच्च अदालत रहेको ठाउँका अतिरिक्त त्यस्तो अदालतको प्रादेशिक अधिकार क्षेत्रभित्रको अन्य कुनै ठाउँमा त्यस्तो उच्च अदालतको अस्थायी इजलास कायम गर्ने गरी मकाम तोक्न सक्ने व्यवस्था रहेको र उपदफा ४ ले त्यसरी इजलास कायम गर्ने गरी मुकाम तोक्दा त्यस्तो इजलासको प्रादेशिक अधिकारक्षेत्र समेत तोक्नुपर्ने व्यवस्था रहेको छ । उक्त दफा ५ को उपदफा (३) र (४) बमोजिम न्याय परिषदको परामर्श नेपाल सरकारले प्रदेश नं. १ को उच्च अदालत विराटनगर अन्तर्गत ओखलढुंगामा अस्थाई इजलास तोक्ने निर्णय बमोजिम २०७३।६।३ गतेबाट उच्च अदालत विराटनगर अस्थाई इजलास ओखलढुंगा गठन भएको छ । यस इजलासको प्रादेशिक अधिकारक्षेत्र अन्तर्गत सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र उदयपुर जिल्ला तोकिएको छ । यस अदालतको मुकाम ओखलढुंगा जिल्लाको सिध्दिचरण नगरपालिका अन्तर्गत ओखलढुंगामा रहेको छ । यस अदालतले नेपालको संविधान न्याय प्रशासन ऐन २०७३, उच्च अदालत नियमावली, २०७३ तथा अन्य अदालतसंग सम्बन्धित ऐन नियम समेतका आधारमा आफ्ना कामकारवाही गर्दै आएको छ ।