Person's Photo

सम्माननीय प्रधान न्यायाधीश

श्री विश्वम्भरप्रसाद श्रेष्ठ

कार्यकारी प्रकृतिका निकाय वा प्रशासनिक प्रकृतिका संस्थाबाट न्यायिक कार्य गर्न असहज भएको अवस्थामा कार्यकारीबाट न्यायिक कार्यलाई पृथक् गर्ने उद्देश्यसहित वि.सं. १९९७ श्रावण १ गतेदेखि प्रधान न्यायालयको स्थापना गरिएको थियो। यस अर्थमा प्रधान न्यायालयको स्थापना नेपालको न्यायिक इतिहासमा कोशेढुङ्गाको रूपमा रहेको पाइन्छ।न्यायिक इतिहासको विरासत बोकेको प्रधान न्यायालयका फैसलाहरू एक प्रकारले भन्दा हराएका थिए। आज ती फैसलाहरू खोजिएका छन् र आधुनिक नेपाली भाषामा बोधगम्य बनाइएका छन्।

न्यायपालिकाले आफ्ना काम कारबाहीलाई प्रविधिमैत्री बनाउँदै लगेको सन्दर्भमा न्यायपालिकाको ऐतिहासिक संस्था प्रधान न्यायालयले गरेका फैसलाहरूलाई बोधगम्य भाषामा उतार गरी सर्वोच्च अदालतको वेवसाइटमा प्रविष्ट गरी सबैको लागि पहुँचयोग्य बनाउनु आफैँमा ऐतिहासिक कार्य हो भन्ने मलाई लागेको छ। आज मिति २०८०।११।०७ गते प्रजातन्त्र दिवसको विशेष दिनमा प्रधान न्यायालयका फैसलाहरूलाई सर्वोच्च अदालतको वेवसाइटमा प्रविष्ट गरिएकोले न्यायिक इतिहासमा पनि आजको दिन एक विशेष दिनको रूपमा रहने छ।

वास्तवमा कुनै पनि विवादको रूपमा अदालतमा प्रवेश गरेका मुद्दाको मिसिलमा रहेका प्रमाण कागज र फैसलाहरू मुद्दाका पक्षको नासोको रूपमा रहेका हुन्छन्। मुद्दाका पक्षले खोजेका बखत उपलब्ध गराउनु हाम्रो दायित्व हुन्छ। त्यसैले तिनीहरूको संरक्षण गर्ने काम सम्बन्धित अदालतले गर्नुपर्ने हुन्छ। यही तथ्यलाई मनन गरी अहिले हामीले सबै अदालतका अभिलेख शाखामा रहेका मिसिलका महत्त्वपूर्ण कागजात र फैसलाहरूको विद्युतीय प्रति (Digitalize Copy) तयार गरी प्रविष्ट गरिरहेका छौँ।

सार्वजनिक सम्पत्तिको रूपमा रहेका तर जनमानसमा सहजरूपमा उपलब्ध हुन नसकेका प्रधान न्यायालयका फैसलाहरू पुरानो लेखन शैलीबाट नयाँ नेपाली भाषाको लेखन शैलीमा उतार गरी जनमानसमा उपलब्ध गराउने कार्यले हाम्रो मौलिक विधिशास्त्रको उजागर गरी कानूनी ज्ञानको प्रवर्द्धन गर्नेतर्फ महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने छ भन्‍ने मैले विश्‍वास लिएको छु। प्रधान न्यायालयका फैसलाहरूमा प्रयोग भएका भाषा हाल प्रचलनमा रहेको भाषाभन्दा पृथक् रहेको र ती फैसलाहरू सजिलै पढ्न र बुझ्न कठिन भएको र लामा नेपाली कागजमा लेखी पट्याई राखेकोमा त्यस्ता फैसलालाई भाषाविज्ञहरूबाट सहजै बोधगम्य हुने गरी उतार गरिएका छन्। यसरी सहज रुपमा उपलब्ध भएका फैसलाहरु न्यायाधीशहरू, कानून र न्यायको क्षेत्रमा कार्यरत अधिकृत तथा कर्मचारीहरू, कानून व्यवसायीहरू, अनुसन्धानकर्ता, कानूनका विद्यार्थीलगायत सरोकारवालाहरूलाई अत्यन्तै उपयोगी स्रोत सामग्रीको रूपमा रहने अपेक्षा गरेको छु।

प्रधान न्यायालयका फैसलाहरू सवैले बुझिने गरी उतार गर्ने कार्य कठिन र चुनौतीपूर्ण थियो। यस ऐतिहासिक र कठिन कार्यको लागि योजना बनाउने, आर्थिक स्रोत जुटाउने, विज्ञहरूको खोजी गर्ने जस्ता कार्यहरूमा आफ्नो नियमित कामको अलावा थप समय र परिश्रम गरी कार्य गर्नुहुने सम्पादन तथा प्रकाशन समितिका अध्यक्ष तथा सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री हरिप्रसाद फुयालज्यू तथा तत्कालीन रूपमा सम्पादन तथा प्रकाशन समितिको नेतृत्व प्रदान गर्नु हुने माननीय न्यायाधीश श्री सपना प्रधान मल्लज्यूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु।

साथै यस कार्यमा मुख्य विज्ञको रूपमा रहनुभएका श्री दिनेशराज पन्त र अन्य विज्ञहरूले पुर्‍याउनुभएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै धन्यवाद दिन चाहन्छु। यसैगरी यस कार्यमा सक्रिय रूपमा संलग्न हुनु हुने यस अदालतका सहरजिस्ट्रार श्री हरिराज कार्की, सम्पादक श्री दीक्षा प्रधानाङ्ग, तत्कालीन सम्पादक ध्रुव ढकाल, कम्प्युटर प्राविधिक अर्जुन सुवेदी तथा सम्पादन शाखाका सम्पूर्ण कर्मचारी मित्रहरू र सूचना प्रविधि महाशाखाका गौरी कोइराला र अन्य कर्मचारीहरू राजन सापकोटा, शंकर खत्रीलगायत यस कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न सवैको योगदानको लागि धन्यवाद व्यक्त गर्न चाहन्छु।

धन्यवाद । मिति २०८०।११।०७

Person's Photo

माननीय न्यायाधीश

श्री हरि प्रसाद फुयाल

  1. सर्वोच्च अदालतमा हालसम्म वि.स. 1991 सालदेखिका प्रधान न्यायालयका राय किताबहरु भेटिएका छन्। वि.सं. 1997।03।12।3 को सनदबाट प्रधान न्यायालयलाई कार्यपालिका भन्दा केही पृथक र स्वतन्त्र निकायको रुपमा स्थापना गरिएको भए तापनि खासमा प्रधान न्यायालयको स्थापना कहिले भएको थियो र यसको तत्कालीन प्रधानमन्त्री तथा भारदारी सभासँगको सम्बन्ध कस्तो थियो भन्नेसमेत इतिहास अझैपनि खोज/अनुसन्धानकै विषय छ।

    वि.सं. 1997 को प्रधान न्यायालय स्थापना गर्ने सनदको प्रस्तावना
    जिल्ला जिल्लामा गौडा गोश्वाराले मुद्दा हेरी निर्णय गर्ने, शान्ति सुरक्षा र बन्दोवस्तको काम समेत गर्दा अडबड परी मुद्दातर्फ ध्यान पुग्न नसक्ने कुरा उल्लेख गर्दै, मुद्दा मामलामा धेरै तहबाट हेर्ने गर्दा मुद्दा नटुङ्गिई जालझेल बढ्ने, जित्ने झगडियाले बेलामा न्याय नपाइने भएको, अझ विदेशी मुलुकमा पनि न्याय र कार्यकारिणी विभाग छुट्टाछुट्टै भएका कारण वि.सं. 1997 मा प्रधानन्यायालय खडा गर्नु परेको भन्ने प्रधान न्यायालय स्थापनाको उद्देश्य रहेको पाइन्छ ।

  2. प्रधान न्यायालयको कार्य संचालन वि.सं. 1997 श्रावण १ गतेबाट प्रारम्भ भएको पाइन्छ। प्रधान न्यायालयको पहिलो न्यायाधीश जनरल बहादुर शम्शेर ज.ब.रा. मतदानबाट नियुक्ति भएको पाइएको छ। प्रधान न्यायालयमा पछि बसन्त शम्शेर ज.ब.रा. ले न्यायाधीश जनरलको रुपमा काम गरेको देखिन्छ। प्रधान्यायालयको गठन, संरचना, कार्यविधि र नियुक्तिलगायतका विषयहरूको बारेमा थप अध्ययन र खोजी हुन जरूरी छ।

  3. राणा शासन कालको अन्त्यतिर प्रधान न्यायालयले गरेका निर्णयहरुको जाँच गर्न मोहन शम्शेर ज.ब.रा. को पालामा “मामला निक्सारी” भन्ने अड्डा स्थापना भएको देखिन्छ। उक्त अड्डामा मिति 2008।04।07 मा हरि प्रसाद प्रधानको नियुक्ति भई उहाँले काम गरेको देखिन्छ। प्रधान न्यायालय ऐन, 2008 जारी भई 2009।01।26 मा लालमोहर लागेको र मिति 2009।09।08 मा राजपत्रमा प्रकाशन भएपछि हरिप्रसाद प्रधानले राणा शासनको अन्त्य पछिको पहिलो प्रधान न्यायाधीशको रूपमा कार्यभार सम्हालेको देखिन्छ। मिति 2009।01।26 मा प्रधान न्यायालय ऐन, 2008 मा लालमोहर लागेको दिनलाई कानून दिवसको रूपमा मनाइँदै आइएको छ। हरिप्रसाद प्रधानको नियुक्तिपत्र हालसम्म फेला पर्न सकिएको छैन। अन्य प्रधान न्यायाधीश वा न्यायाधीशहरूको व्यक्तिगत विवरण फायल जस्तै हरि प्रसाद प्रधानको व्यक्तिगत विवरण फाइल सर्वोच्च अदालतको अभिलेखमा छैन।

  4. विभिन्न स्रोतहरूको खोजी र प्रयासबाट वि.सं.१९९७ सालदेखिका प्रधान न्यायालयका फैसलाहरू प्राप्त हुन सकेका छन् । ती फैसलाहरूलाई पनि क्रमश: बोधगम्य लिपी र भाषामा जस्ताको त्यस्तै अनुवाद गरिने छ । नेपाल कानून पत्रिकाको वि.सं.२०१५ सालदेखि प्रकाशन प्रारम्भ भएको भए तापनि त्यसभित्र वि.सं.२००९ सालदेखिका प्रधान न्यायालयका केहि फैसलाहरू समावेश भएको पाइन्छ।

    नेपाल कानून पत्रिका सम्बन्धी सर्वोच्च अदालतको २०१८ सालको पहिलो वार्षिक प्रतिवेदनमा उल्लेखित विवरण
    सर्वोच्च अदालतबाट २०१५ साल फाल्गुण महिना देखिन नेपाल कानून पत्रिकाको प्रकाशन शुरू गरियो । जनतामा कानूनको ज्ञान गराउन तथा सुलभ न्यायलाइ सुव्यवस्थित तुल्याउनु र न्याय सम्पादन कार्यमा निश्चयता तथा स्थिरता ल्याउनाको मुख्य उदेश्य लक्ष राख्दै यो पत्रिकाको प्रकाशन भएको हो । साधारणत: यो पत्रिका चार भागमा विभाजित गरिएको छ। १.ऐन कानून खण्ड, २. ऐन कानून खण्ड (क), ३. लेख खण्ड र ४. फैसला खण्ड।
    ऐन कानून खण्डमा नयां ऐन कानून सम्शोधन सम्वन्धित नियम, आदेश, अध्यादेश सूचना, लागू गरिएको मिति, खारेजी इत्यादी क्रमश वर्ष क्रमले दिइएको हुन्छ । यस खण्डले नयां ऐन कानून, २००७ यता प्रकाशित भएका, वा संकलन, रअन्तिम सम्शोधन सूचनाहरूको संकलनमा ठूलो मद्द दिएको छ ।
    ऐन कानून खण्ड (क) मा – पुराना खड्ग निशाना, एक छापे, सर्वोच्च अदालत फुल कोर्टको निर्णय, तथा पुराना अप्राप्त भैरहेका ऐन कानूनहरू छापिएको हुन्छ । यसबाट पुराना लुके छिपेका ऐन सवालहरू समेत जन समक्ष आउन सुलभ भएकोछ । लेख खण्डमा – ऐन कानून सम्बन्धी लेख तथा जुरिष्प्रुडेन्सको सिद्धान्तमा आधारित तथा नयां ऐन कानून विषयको समालोचनात्मक लेख प्रकाशित गरिएको हुन्छ ।
    फैसला खण्डमा – यस खण्डमा, सर्वोच्च अदालतबाट अन्तीम टुंगो लागेका मुद्दाहरू, जसमा कानूनी सिद्धान्त खडा गरिएको हुन्छ वा कानूनको व्याख्या गरिएको हुन्छ तेस्ता मुद्दाहरू सम्पादित गरी प्रकाशि गरिन्छ । सर्वोच्च अदालत एउटा कोर्ट अफ रेकर्ड हो र यस अदालतबाट खडा गरिएका कानूनी सिद्धान्त तथा व्याख्या गरिएका ऐन कानूनहरू नेपाल अधिराज्य भरका अड्डा अदालतहरूले मान्यता दिइ सो नै अनुसार गर्न गराउनु पर्न हुनाले, अड्डा अदालत तथा जन समक्ष सो को जानकारी बोध गराउनमा एउटा ठुलो सफल साधन हुन आएको छ । यस पत्रिकाको निम्न लिखित जवान भएको एउटा सम्पादकिय मण्डल छ :-
    १. असिष्टेन्ट रजिष्ट्रार श्री हिरणेश्वर मान प्रधान एम.ए.एल.एल.वी.
    २. सम्पादक नरेन्द्र वहादुर न्यौपाने बी.ए.वी.एल.
    ३. सिनिर एडभीकेट देव नाथ प्रसाद वर्मा वी.ए.वी.एल.
    ४. प्लिडर हेरम्व प्रसाद र मुख्य सम्पादन गर्ने काम सम्पादक उपर रहेको छ ।
    यस पत्रिका विभागको स्टाफमा निम्न जवान रही आएका छन् ।
    १. सम्पादक
    २. वैदार वा विचारी वा डिट्ठा
    ३. टाइपिष्ट
    ४. पिउन
    यसको वार्षिक वजेटको निकासा प्रकाशनको लागि ने.रू.१२,००० छ र करिव ने.रू.८,००० यसको प्रकाशनमा खर्च भएको देखिन्छ । र यस पत्रिकाको माग र महत्व दिनौ बडदै गएको छ ।

  5. प्रधान न्यायालयका २००९ साल देखिका फैसलाहरू पनि निरन्तरको खोजी र प्रयासबाट प्राप्त भएका छन्। सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशन समितिको निरन्तर प्रयत्‍नपछि नेपाल सरकारबाट प्राप्त बजेटमार्फत विज्ञहरूको पहिचान गरी उक्त फैसलाहरूको मिति 2078।09।14 देखि पुरानो नेपाली भाषा शैलीबाट नयाँ नेपाली भाषा शैलीमा अनुवादको कार्य थालनी गरिएको थियो।

  6. विज्ञहरूको छनौटको क्रममा नेपाली इतिहासका महत्त्वपूर्ण व्यक्तित्व दिनेशराज पन्तले यस कामको नेतृत्व लिन स्वीकार गर्नुभयो। उहाँले सार्वजनिक आव्हान मार्फत छनौट गरिएका विज्ञहरू सँग अन्तरक्रिया गरी विज्ञहरूको कामको आफैँले निरिक्षण गरी अन्तिम रूप दिइएपछि मात्र त्यस्ता फैसलाहरूलाई कम्प्युटर प्रणालीमा प्रविष्ट गरी सार्वजनिक गरिएको छ। त्यसमा कुनै कमी कमजोरी गल्तीहरू भेटिएमा पाठकहरूको सुझावलाई सूचनाको रूपमा लिइने छ।

  7. उल्लिखित फैसलाहरू नेपालको राजनैतिक र कानूनी प्रणालीमा आएको परिवर्तनलाई तुलना गर्न ऐतिहासिक दस्ताबेजको रूपमा मान्न सकिन्छ। वि.सं. २००७ सालको परिवर्तन पछि प्रधान न्यायाधीश हरिप्रसाद प्रधानको नियुक्ति, व्यक्तिगत स्वतन्त्रता ऐन, २००६, नेपाल सरकार वैधानकि कानून, २००४, नेपालको अन्तरिम शासन विधान, २००७, प्रधान न्यायालय ऐन, २००८, तत्कालीन (२०२० भन्दा पहिलाको) जात प्रणालीमा आधारित मुलुकी ऐन लगायतका कानूनी व्यवस्थाहरूले न्याय प्रणालीहरूलाई सोही अनुरूप प्रभाव पारेको थियो भन्ने अर्थमा बुझ्न सकिन्छ। यी फैसलाहरूले नेपालको न्याय प्रणालीको परिवर्तन वा विकासक्रम बारे यथार्थ जानकारी प्राप्त गर्न महत्त्वपूर्ण सामग्रीको रूपमा रहन सक्ने सर्वोच्च अदालतको विश्वास रहेको छ।

  8. मलाई व्यक्तिगत रूपमा नेपाली कानूनी इतिहासको सार्वजनिकीकरण गर्ने एक गहन र महत्त्वपूर्ण काममा संलग्न हुन पाउँदा धेरै नै खुसी लागेको छ। यस्तो महत्त्वपूर्ण काममा मलाई अवसर र हौसला दिने तत्कालीन सम्माननीय प्रधान न्यायाधीश हरिकृष्ण कार्की, माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई, माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल, माननीय न्यायाधीश श्री कुमार रेग्मी तथा सम्पूर्ण माननीय न्यायाधीशज्यूहरूलाई धन्यवाद दिन चाहन्छु। यस कार्यलाई अन्तिम रूप दिन महत्त्वपूर्ण निर्देशन र सहयोग गर्ने सम्माननीय प्रधान न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रधान न्यायालयका फैसलाहरु उतार गरी यस अवस्थासम्म पुर्‍याउन व्यवस्थापकीय सहयोगका लागि सर्वोच्च अदालतका रजिष्ट्रार श्री विमल पौडेल तथा सह-रजिष्ट्रार श्री हरिराज कार्की साथै सम्पादन तथा प्रकाशन समिति, सम्पादक र त्यहाँ कार्यरत कर्मचारीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। प्रधान न्यायालयका फैसलाहरु संकलन र संग्रह गर्न तथा यस कार्यमा प्राविधिक सहयोग गर्ने सर्वोच्च अदालतका सूचना प्रविधि प्रबन्धक श्री गौरीनाथ कोइराला, कम्प्यूटर अपरेटर श्री अर्जुन सुवेदी र श्री राजन सापकोटालाई आभार व्यक्त गर्न चाहन्छु।

  9. धेरै समयको खोज र प्रयत्नबाट यहाँहरूसमक्ष नेपाली कानूनी विधाको एक महत्वपूर्ण ज्ञान उजागर गर्न सफल भएका छौं। यसबाट हाम्रो न्यायिक प्रणाली र विधिशास्त्रीय विकासक्रमको पूर्ववत् आँकलन गर्न सहयोग पुग्ने गरी कानूनी साहित्य सिर्जना भएकोमा खुसी व्यक्त गर्न चाहन्छौं।

प्रधानन्यायालयबाट भएका केही पहिलो फैसलाहरू

  1. प्रधान न्यायालयको पहिलो फैसला- अभिलेख दर्ता नं. 1 प्रधान न्यायालय दोस्रा फाँटबाट भएको फैसला (देवानी प्रकृतिको)
    मुद्दाः बाटो खुलाई पाउँ
    निर्णयकर्ताः मेंबर गुरु रेवतीनाथ पांडी, का.मु. हाकीं सु सेरशंकर
    वादीः राम्बाहादुर पाडे क्षेत्री र ना.सु. गुणनाथ पाध्या
    प्रतिवादीः शाम्प्रसाद
    फैसलाः मो रु. 1 को पैलो अपील हुँदा सेक्रा १० ले मो रु. 10 पैसा डंड हुने
    फैसला मितिः 2009।4।27।2

  2. अभिलेख दर्ता नं. 2 (पहिलो पुनरावेदनका रुपमा रहेको)
    मुद्दाः पसलबाट उठाइ पाउँ
    न्यायाधीशः प्रधान न्यायाधीश श्री हरि प्रसाद प्रधान
    वादीः रोहिणी कुमार उपाध्याय
    प्रतिवादीः विष्णु बहादुर श्रेष्ठ
    फैसलाः प्र विष्णु बहादुर के आफैबसी भोग चलं गरी बहाल बुझाय सम्म पसल बाट उठन नपर्ने
    फैसला मितिः 2009।4।31।6

  3. अभिलेख दर्ता नं 7/2009, 92/1078 (पहलो डिभिजन बेञ्चको फैसला)
    मुद्दाः जग्गा खिचोला
    न्यायाधीशः नि.प्र.न्यायाधीश ले.ज.प्रकाश शमशेर ज.ब.रा. तथा श्री माननीय न्यायाधीश भैरबराज पन्त उपाध्याय
    वादीः राधिका तिवारनी जैसीनी
    प्रतिवादीः देविलाल तिवारी जैसी
    फैसलाः तिरो तिरेको रसिद सबुत बेगर देवीलालले सो जग्गा भोग गरेको रहेछ भनी ठह्राउन मुनासिव नपर्ने भै तिरो र भोग कायम हुन नआयकोले 93/12/11 को कागज बाट देवीलालको जग्गामा दावी पुग्न नसक्ने।
    फैसला मितिः 2009।9।25।5

  4. अभिलेख दर्ता नं.९/20०९ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४/५८५ (डिभिजन बेञ्चको पहिलो दोहोर्‍याई पाउँ र डिसमिस फैसला)
    मुद्दाः अंश
    न्यायाधीशः श्री माननीय प्रधान न्यायाधीश हरि प्रसाद प्रधान तथा श्री माननीय न्यायाधीश महेन्द्र बहादुर महत
    वादीः पहुनी थरुनी
    प्रतिवादीः विसुकी थारु
    फैसलाः म्याद भित्र हाजीर हुन आउनू पर्नेमा आजसम्म हाजिर हुन आएको मिसलवाट नदेखिएकोले खड्ग निसाना उपरको अपिलाटको उजूरी डिसमिस हुन्छ। अपिलाटले मुद्दा दोहोराएकाले इनसाफ खड्ग निसानाको सदर भएमा सुरू डंड प्रधान न्यायालय चौथा फाटवाट नगरेकाले डंड १ डंड लागनेमा डीसमिस गराउकोले तेसको सेक्रा ५ ले डंड ९।।।१ डंड लागछ।
    फैसला मितिः 2009।10।2।5

  5. ४९/९/५४४/९८१ (पहिलो बन्दीप्रत्यक्षीकरण रिट)
    मुद्दाः थुन्न नहुने थुने
    न्यायाधीशः श्री माननीय प्रधान न्यायाधीश हरि प्रसाद प्रधान तथा श्रीमाननीय न्यायाधीश भैरवराज पन्तोपाध्याय
    वादीः दिलबहादुर श्रेष्ठ
    प्रतिवादीः पसुपति पञ्चाएतका प्रधानपञ्च कृष्णप्रसाद उपाध्यायस्मेत
    फैसलाः व्यक्तिगत स्वतन्त्रताका ७ नं का ऐन वमोजिं थुनामा परेको दिं को हरजनामा दाबी लिई बादिले उजूर गर्नुपर्नेमा हरजनातर्फ दाबा नलिईप्रतिवादिहरुलाई सजाय गरिपाऊ भनी उजुर गरेको देखिएको प्रतिवादिलाई सजाए गर्ने तर्फ अघिनै फैसला भैसकेकाले प्रतिवादीलाई सजाय गर्ने तर्फको उजुर हुँदा खारेज गर्ने गरेको इनसाफ प्रधान न्यायालय पहिला फाँट्को मनासिब छ। मुद्दा दोहोरायको बादि द्धवारे दिलबहादूरलाई हा.क.११नम्बरका ऐन बमोजिं सुरु दण्ड मो.रु.१को सैक्रा।१० दश ले मोरु पैसा दण्ड लाग्छ ।
    फैसला मितिः 2009।12।2५।३

  6. अ.द.नं. १३२१-२०११ दे.फौ.पु/रीट नं. ३३१/१२७ (बन्दीप्रत्यक्षीकरण रिट)
    मुद्दाः अैं बिरुध्द थुने
    न्यायाधीशः श्री माननीय प्रधान न्यायाधीश हरि प्रसाद प्रधान तथा श्रीमाननीय न्यायाधीस भगवति प्रसाद सिंह
    वादीः जनकमान श्रेष्ठ
    प्रतिवादीः काठमाडौ मजिष्ट्रड
    फैसलाः नगरपालीका अैंन बमोजिं नगरी मैजिष्ट्रेड सवालको मजबुन नबुझी मैजिष्ट्रेडले सार्वजनीक सुरक्ष्या अैंन प्रयोग गरेको सर्बथा बेकानुनी ठहर्छ र सो अैंन प्रयोग गरी जनकमानजीलाई नजरबन्द राखेको बेरीत संग थुनेको ठहर्नाले जनकमानजीलाई तुरंत छाडीदीनु। जनकमानजीलाई बेरीतसंग थुनेमा बेरीतसंग थुन्‍नाको ८ नंबरका अैंन बमोजिं मैनको रु १५ का दर्ले पर्चा गरी थुनेको मीती ११।९।११।१ देखी ११।११।१९।९ तक मैन्हा।२।९ को मोहरु ३४।५० काठमाडौ मेजिष्ट्रेड् श्री बद्रीप्रसादजी थपलीया तापलेजुङ् आठराई मुलपानीलाई जरीबाना हुन्छ।
    फैसला मितिः 2011।11।20।5

  7. अभिलेख दर्ता नं ५१ २०१२ सालको मि.नं
    मुद्दाः नलाग्ने जरीवाना गरे
    न्यायाधीशः श्री माननीय न्यायाधीश प्रकाशशम्सेर जङ्गबहादुर राणा
    वादीः चतुरभूजलाल दास
    प्रतिवादीः बाके अपिल
    फैसलाः चतुर्भुजको रपोट परी अपील तर्फ दर्ता भै पेस शुन आएको येस्मा तालुक अडाले मिसिल मागदा नपठायेमा जरिवाना गरेक मनासिव छ तर हदैसंम रु २०। गर्दा चर्को पर्ने हुनाले रु २६ ई २०११।१।१७ मा निज ष चतुर्भुज दास कायस्तले बर्दिया अमिनिमा धरौट राखषेको देखीयेको स्व धरौटी सदर स्याहा गर्नु भनी बर्दिया अमिनिलाई र बा.ब. अपिलका १०।१२।१।२ मा गर्ने गरेको रु २० अशुल भये फिर्ता र नभये बेहोरा जनाई लगत काटी दिनु।
    फैसला मितिः 2012।11।13।3

मितिः 2080।11।07
(मिति २०१५ फागुन ७ गते देखि नेपाल कानुन पत्रिकाको प्रकाशन शूरु भएको थियो।)

Person's Photo

इतिहासविद्

प्रा.दिनेशराज पन्त

अभिलेखको आधारमा भन्न सकिने नेपालको पहिलो प्रामाणिक काल लिच्छविकाल हो । लिच्छविकालका करिब २५० वटा अभिलेख पाइएका छन् । ती सबै अभिलेख संस्कृत भाषामा कुँदिएका छन् । तर, तिनमा खोला, डाँडा, बस्ती, पोखरी, वन, कर, अड्डा आदिका नाम संस्कृतेतर भाषामा छन् । तिनमा न्यायसँग सम्बद्ध अड्डा शोल्ल, माप्चोक पनि पर्छन् । किरात परिवारको भाषाको प्रयोग भएको त्यस कुराबाट लिच्छविकालभन्दा अघिको किरातकालमा न्याय व्यवस्था राम्रो थियो भन्न सकिन्छ । लिच्छविकालमा न्याय व्यवस्था सुदृढ थियो भन्ने कुरा अभिलेखहरूबाट हामी बुझ्छौँ । लिच्छविकालपछि नेपाल टुक्रने क्रम सुरू भयो र यो क्रम बढ्दै जाँदा यस भू-भागमा ५२ वटा भन्दा बढी राज्य खडा हुन आए । ती राज्यमा न्याय व्यवस्था राम्ररी सञ्चालन हुन्थ्यो भनेर तात्कालिक सामग्रीहरूबाट बुझ्न सकिन्छ भने स्थितिराज मल्लको पालामा तयार भएको न्याय विकासिनीबाट त यस क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्न गएको स्पष्टै छ । न्यायसँग सम्बद्ध विभिन्न अड्डा, पृथ्वीनारायण शाहले दिव्योपदेशमा बोलेका कुरा, उजीरसिंह थापाको स्थिति बन्देज, वि.सं.१९१० सालको मुलुकी ऐन आदिबाट शाहकालमा न्याय व्यवस्था सुदृढ थियो भनेर भन्न सकिन्छ । ती ती कालका पाइएका केही सामग्रीहरूको आधारमा यति भन्न सकिएको हो । तर, हामीकहाँ पुराना सामग्रीको सुरक्षा गर्ने राम्रो बन्दोबस्त नहुनाले सबै कुरा प्रामाणिक रूपमा भन्न सक्ने अवस्थामा हामी छैनौँ ।

वि.सं.१९९१ मा खडा भएको नेपाल प्रधान न्यायालयले २००७ सालको परिवर्तनपछि वि.सं.२००८ मा नयाँ रूप लियो । त्यसले न्यायको क्षेत्रमा ठूलो फड्को मार्‍यो । सर्वोच्च अदालतमा रहेका वि.सं.२००८ देखि २०१२ सालसम्मका नेपाल प्रधान न्यायालयका फैसलाको प्रतिलिपि तयार गर्ने उद्देश्यले सर्वोच्च अदालतले वि.सं.२०७८ पौष ९ देखि २०८० जेष्ठ १२ गतेसम्ममा ९ जना विज्ञहरूको सहयोगमा २५६८ थान फैसलाको उतार लिने काम सम्पन्न गर्‍यो । सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री हरिप्रसाद फुयालको कुशल संयोजकत्वमा भएको यस कार्यबाट अभिलेखको संरक्षणमा महत्त्वपूर्ण काम भएको छ । यस कार्यबाट त्यस बेलाको न्यायिक इतिहासमा प्रकाश पार्नुका साथै ती सबै सामग्री सर्वसाधारणको लागि पनि बोधगम्य भएको छ । भविष्यमा हुने अरू समयका फैसलाको उतारको साथै निवेदन आदि सम्बद्ध अरू सामग्रीको प्रतिलिपिले न्यायिक इतिहासको प्रामाणिक ज्ञानको साथै अभिलेखको संरक्षणमा अझ बढी योगदान दिनेछ भन्ने आशा मैले लिएको छु ।