न्यायिक समाचार
काठमाडौं, १७ फागुन
सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठद्वारा सर्वोच्च अदालत एनेक्स भवनको शिलान्यास
सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठले आज सर्वोच्च अदालत मूल भवन पछाडि सिंहदरबार हाता भित्रको सर्वोच्च अदालतको जग्गामा स्टिल संरचनामा तयार गरिने सर्वोच्च अदालत एनेक्स भवनको शिलान्यास गर्नुभयो। भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठले सर्वोच्च अदालतको मूल भवन भूकम्पबाट क्षतिग्रस्त भै प्रवलिकरणको कार्य भैरहेको भएतापनि सो भवनबाट मात्र सर्वोच्च अदालतको वढदो कार्यबोझ थेग्न सकिने अवस्था नरहेको र सर्वोच्च अदालतको नयाँ भवन निर्माण हुन केही बर्ष लाग्न सक्ने भएकाले सर्वोच्च अदालतको मध्यावधि आवश्यक्ता पुर्ती गर्न यो भवन निर्माण गर्नु परेको बताउनुभयो ।सो अवसरमा प्रधानन्यायाधीश श्रेष्ठले नयाँ भवन निर्माणबाट सर्वोच्च अदालतको कार्य सम्पादनमा सहजता आउनाका साथै यसबाट सेवाग्राही, कानून व्यवसायी तथा न्यायाधीश एवं कर्मचारीहरु वाञ्छित रुपमा लाभान्वित हुन सक्ने अपेक्षा गर्नु भएको थियो।
नेपाल सरकारवाट सिंहदरबार हाताभित्रको कि. न. ३२३४ र ३२३७ को १५२६२.२८ वर्ग मिटर जग्गा सर्वोच्च अदालतलाई प्रदान गर्ने गरी मिति २०७१।०१।२५ मा निर्णय भएको हो । प्रस्तवित एनेक्स भवन निर्माणका लागि शहरी विकास तथा भवन निर्माण विभागले ९,२६,९३,६८१ को लागत स्विकृत गरेकोमा एक वर्ष अवधिभित्र निर्माण सम्पन्न गर्ने गौरी पार्वती निर्माण सेवा प्रा लि संग रु ७,७९,३९,४८९ मा ठेक्का सम्झौता भएको छ।