न्यायिक समाचार
काठमाडौं, १० माघः
सम्माननीय प्रधान न्यायाधीश श्री कल्याण श्रेष्ठ ज्यूबाट यही माघ १ गते गुल्मी जिल्ला अदालतको नवनिर्मित भवनको समुद्घाटन कार्य सुसम्पन्न भयो। उक्त अदालतको आफ्नै भवन रहेको भएपनि सो भवन पुरानो र साँघुरो भएको कारण अदालतको बढ्दो कार्यबोझ अनुसार उक्त भवन अपर्याप्त भएकोले नयाँ भवन निर्माण गरिएको हो।
त्यसैगरी, सम्माननीय प्रधान न्यायाधीश ज्यूबाट माघ २ गते शान्ति तथा पुननिर्माण मन्त्रालयबाट निर्माण हुन लागेको अर्घाखाँची जिल्ला अदालतको भवन शिलान्यास गर्ने कार्यसमेत सुसम्पन्न भयो। अर्घाखाँची जिल्ला अदालतको हालको भवन पुरानो हुनाको साथै साँघुरो र जीर्ण भएकोले अदालतमा आवश्यक पर्ने इजलासकक्ष तथा अदालतबाट प्रदान गरीने अन्य सेवाहरू सञ्चालन गर्नसमेत कठिनाई भएकोले नयाँ भवन निर्माण गर्न लागिएको हो।
सम्माननीय प्रधान न्यायाधीश ज्यूबाट सोही दिन प्यूठान जिल्लाको सदरमुकाम खलङ्गामा नवनिर्मित प्यूठान जिल्ला अदालतको भवनसमेत समुद्घाटन गर्ने कार्य सम्पन्न भयो। नव निर्मित भवन उद्घाटन हुनुभन्दा पहिला प्यूठान जिल्ला अदालतको आफ्नै भवन रहेको थिएन । रेडक्रसको घर भाडामा लिई अदालतले आफ्ना सेवाहरू प्रदान गर्दै आएको र भाडाको घरबाट इजलास लगायतका अन्य काम कारवाहीहरू सञ्चालन गर्न कठिनाई रहेको सन्दर्भमा नयाँ भवन निर्माण गर्न परेको हो।